+९७७-०१-४५४७०२२

nationalrepublicnepal@gmail.com

नेशनल रिपब्लिक नेपाल निर्वाचन आयोगबाट २२ फेब्ररी २०२४ (२०८० फाल्गुन १० गते) बैधानिक रूपमा दर्ता भएर आएको दल हो । नेपालमा स्थापित र विकास भएका ठूला तथा साना र पुराना तथा नयाँ पार्टीहरू विविध कारणले दिनानु दिन असफल हुदै गईरहेकाले परिवर्तनको स्पष्ट दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रम सहित नेशनल रिपब्लिक नेपालको स्थापना भएको हो । सम्पूर्ण श्रमजिवी, शोषित पिडित, नारी, उपेक्षित, उत्पिडित, असाहाय, बालबालिकाको मानव अधिकार साथै मूलवासीहरूको अधिकार, मुक्ति र अस्तित्व प्राप्तिका लागि व्यापक रूपमा लोक समुदायलाइ एउटै पङ्तिमा गोलबद्ध गरी राष्ट्रप्रेमी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाइ समेट्दै बाहुनवादमा आधारित सामन्तवादी, साम्राज्यवादी तथा नोकरशाही पूँजीवादको विरोध एवं सामाजिक संरचनामा आमुल परिवर्तन गरी पूर्ण लोकतान्त्रिक प्रणालीद्वारा लोकशक्तिको माध्यमबाट समानता, स्वतन्त्रता, भातृत्व र न्यायपूर्ण समाज साथै लोकतान्त्रिक मुल्य रमान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध रही दिगो विकास, शान्ति, शुसासन र समृद्धी सहितको समुन्नत नयाँ नेपाल निमार्ण गर्ने लक्ष्य नेशनल रिपब्लिक नेपालले तय गरेको छ ।

हाम्रो देश नेपाल आज गम्भीर र संवेदनशील घडिमा गुज्रिरहेको छ । अशान्ति, गरिबी, अशिक्षा, बेरोजगार आदिले ग्रस्त छ । भ्रष्टाचारले आकाश छोइसकेको छ । युवा पिढिहरूले आफनै जन्मभूमि नेपाल जहाँ प्राकृतिक रूपले धनि र सुन्दर देशमा भविष्य देख्न छाडिसकेका छन् । दिन प्रति दिन युवाहरू देश छोडेर बाहिर मूलुक तिर गईरहेको अवस्था छ । अझैपनि चेलीवेटीहरू बेचिने क्रम रोकिएको छैन । विश्वमा दाजुभाई तथा दिदीबहिनीहरूले धेरै सस्तो मुल्यमा आफनो श्रम बेच्नु परिरहेको छ । यसको जिम्मा कसले लिन्छ ? समय समयमा आई पर्ने विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरू, महाँमारी रोगहरू, ठुला-ठुला विपत्तीहरूले ल्याउने समस्याहरूको समयमा हल गर्न नसक्दा देश धेरै पछाडि धकेलिरहेको छ । कुनै पनि देश शान्त, समृद्ध र शक्तिशाली बन्न त्यस देशको  साधारण नागरिक देखि देश सञ्चालन गर्न जिम्मा लिएका नेतृत्व पंक्तिका नेताहरू सबैको भुमिका उत्तिकै हुने भएता पनि सबै भन्दा महत्वपूर्ण जिम्मेवारी र भुमिका भनेको देशको बागडोर सम्हालेको नेता र नेतृत्वहरू अर्थात सांसद र सरकारको हुन्छ ।

त्यसैले राजनैतिक व्यवहार र प्रणाली नै देशको असल व्यवस्थापन र सञ्चालन गर्ने विधि र प्रक्रिया हो । जब राजनीति दुर्गन्धित र नेता भ्रष्टाचारी हुन्छ तब स्वभाविक रूपले देश र लोक समुदायको भविष्य र जीवन अस्त व्यस्त हुन जान्छ । त्यसैले आज सम्मको निष्कर्षमा आइपुग्दा असल राजनीति नै देश र लोक समुदायको भाग्यरेखा कोर्ने कलम र मसि हो भन्न सकिन्छ । नेपालको ईतिहासमा राजनीतिले निकै ठूलो चरण पार गरिसकेको देखिन्छ । गोपाल वंश महिस्पाल वंश देखि लिएर बाइसे चौबिसे राज्यहरू, मल्लकालिन, शाहकालिन, राणा शासन, पञ्चायत, बहु-दल हुदै आज लोकतन्त्रमा प्रवेश गरिसकेको छ । लोकतन्त्र भन्नाले लोक समुदायले आफनो शासन आफै वा आफ्नो प्रतिनिधि मार्फत सञ्चालन गर्न पाउनु हो । अर्थात आफु र आफ्नो देशको भाग्य र सुनौलो भविष्य आफै कोर्न पाउने सौभाग्य प्राप्त गर्नु पनि हो । नेपालमा शासन व्यवस्थाहरू धेरै नै परिवर्तन भए । संसारमा आज सम्म सबै भन्दा उत्कृष्ट मानिएको शासन प्रणली लोकतन्त्र ( जनताको शासन) पनि आयो तर देश र लोक समुदायको भविष्य र जीवनमा सुख, शान्ति र समृद्धिहरू व्यवहारिक रूपमा केही पनि आएन र परिवर्तन पनि भएन बरू झन् भन्दा झन् बिग्रदै गईरहेको अवस्था छ । यसको प्रमुख कारण तपाई हामीले आज सम्म पटक पटक उहि पुरानो नेता, उहि पुरानो अनुहार, उहि पुरानो वंश र उनिहरूकै पार्टीहरूलाई चुनेर सरकारमा पठायौं । ती पार्टीहरू जस्ले यो देशमा कुलिनतन्त्र ( वर्चस्व र मुख्य तालाचापी आफनो परिवार र वंशजको हातमा मात्र हस्तान्तरण गर्ने), तानाशाही (अस्वस्थ प्रतिस्प्रर्धा गरि आफनो बर्चस्व कायम गर्ने) र सामन्ती (आफ्नो वंशजको भलो वाहेक अरू वंशजको भलो नचाहने) प्रणलीमा चल्दै आएका थिए र छन । अर्को तर्फ तिनै नेताहरूलाई तपाई हामीले पटक पटक चुनेर शत्ता र सरकारमा पठाउने गल्ति गर्दै आयौ । तिनै नेताहरू जसले अकुत भ्रष्टाचार गरे, विभेदपूर्ण कानूनहरू निर्माण गरे, देशलाई बन्धक बनाए, नदीनालाहरू बेचे, प्राकृतिक स्रोत र सम्पदाहरू दोहन गरे, पौरखी र मेहेनती नेपाली दाजुभाई र दिदीबहिनीहरूलाई बिदेसिन बाध्य बनाए । अब त्यस्ता पार्टी र ब्यक्तिहरूलाई अमुल्य मत दिएर सिंगो देश र जनताको भविष्य माथि बज्रपात गर्ने काम नगरौं । त्यसैले अबका आँउदो निर्वाचनहरूमा धेरै कुरा सोचेर ख्याल गरेर मात्र आनो अमुल्य मत प्रदान गर्नु पर्छ । किन की तपाई हामीले खसाल्ने एक भोटले जनता र देशको भविष्य निर्धारण गर्दछ, भन्ने आवहान गर्दै लोकतन्त्रको असली परिभाषा (जनताको लागि जनताद्धारा जनताकै शासन) लाई असली र व्यवहारिक रूपमा लागु र पूरा गर्ने हेतुले समानता, भातृत्व, स्वतन्त्रता र न्यायपूर्ण समाज निर्माण संगै दिगो शान्ति, सुशासन र विकास सहितको पूर्ण लोकतान्त्रिक समाजवाद उन्मुख नयाँ नेपाल निर्माण गर्नका लागि नेशनल रिपब्लिक नेपालले "मौरी चुनाव चिन्ह" लिएर यहाँहरू माझ आएको छ ।

सम्पर्कमा

काठमाडौं, नेपाल

+९७७-०१-४५४७०२२

nationalrepublicnepal@gmail.com

Newsletter

© Nr Nepal. All Rights Reserved.